झापा

झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो । यसै क्रममा झापाको बिर्तामोड ३ स्थित बिर्ताबजार स्थित अदुवा खोलामा पनि आयोजना गरिएको पुजा भब्य रुपमा सम्पन्न भएको छ । अदुवा खोलामा लामो समयदेखि पुजा लगाइंदै आइएको छ ।  अब स्थायी रुपमा छठ पूजा गरिने जनाइएको छ । 

२०७१ सालदेखि स्थगित भएर नेपाल मधेसी समाज सेवा समितिले गत वर्षदेखि छठ पूजा शुरुवात गरेको अधुवा खोलामा कोशी प्रदेश सरकारले छठ पूजाका लागि तटबन्धसहित पूजास्थल निर्माण गरिदिने जनाएको छ । 

 कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको पहलमा बिर्ताबजारस्थित अधुवा खोलामा तटबन्ध र स्ल्यावसहित पूजास्थल निर्माण गरिने जनाइएको छ ।  जसको लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । 

WhatsApp Image 2024-11-08 at 03.11.29 (1)

विगतमा प्रदूषणमुक्त रहेको ऐतिहासिक अधुवा खोलालाई दुर्गन्धित बनाउँदै लगेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री कार्कीले अब अधुवा खोलाको सौन्दर्यकरणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए । हिजो कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले  गत वर्ष अधुवा कोरिडोरका लागि बजेट छुट्टिएर काम शुरु भएकोमा जग्गा विवादका कारण काम रोकिएको बताउँदै त्यसलाई पुरा गरिनुपर्ने आबश्यकता औल्याए ।

नेपाल मधेसी समाज सेवा समितिद्वारा  आयोजित छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री कार्कीले अर्को वर्ष पक्की बनेपछि ब्रतालुहरुले बालुवा थुपारेर पूजास्थल निर्माण गर्न नपर्ने बताए ।

नेपाल मधेसी समाज सेवा समितिले अधुवा खोलामा गत वर्षदेखि छठ पूजा शुरु गरेको हो । यस वर्ष भव्य रुपमा छठ पूजा आयोजना गरिएको थियो । पचास हजारभन्दा बढी बत्तीको झिलिमिली पूजाको मुख्य आकर्षण रहेको थियो । जसका कारण यस वर्ष अरु ठाउँभन्दा बिर्ताबजारको छठ पूजाको चर्चा चलेको थियो । पूजामा ब्रतालु र दर्शक गरी हजारौको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गत वर्षभन्दा यस वर्ष धेरैको सहभागिता रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष रामेश्वर मण्डलले आगामी वर्ष अझ उत्कृष्ट गर्ने जानकारी दिए । उनले विगत ६ दशकदेखिको पुरानो ऐतिहासिक ठाउँलाई पुनस्र्थापित गर्न आफूहरु लागिपरेको बताए । 

खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आयोजक संस्थाका अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला , नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , नेपाल मुस्लिम संगठनका केन्द्रीय सचिव अफ्रोज खानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक संजय शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सन्तोष दास र शिला शाहले गरेका थिए ।