काँकडभिट्टा– कांकरभिट्टा नाकाबाट बिहीबार लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध नियन्त्रण ब्युरोको सहयोगमा अलग–अलग समयमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारीका ३३ वर्षीय नेसरु मिया, दमक नगरपालिका–३ का मनिषकुमार धिमाल, सोही ठाउँका २४ वर्षीय मनिष अधिकारी र मुगु घर भएका २२ वर्षीय हीराप्रसाद जैसी रहेका छन् ।
तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नेपाल भारत सीमाको मेची पुलबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मियाका साथमा २.११ ग्राम ब्राउन सुगर भेटिएको छ ।
प्रहरीले मिया सवार मे ६ प ६५ १० नम्बरको स्कुटर नियन्त्रणमा लिएको छ । भारतबाट पैदल आउँदै गरेका धिमाल र अधिकारीको साथबाट ६.८४० ग्राम ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
अर्का पैदल यात्री मुगुका जैसीले मलद्वारमा लुकाएर ल्याएको दुई ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको र उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।