बिर्तामोड । झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ । तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने आयोजक संस्थाले आज (बिहीवार) महोत्सव स्थलममा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटन सम्बन्धी अन्तरक्रिया साथै बिभिन्न व्यवसायिक स्थलहरु रहने तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, सांस्कृतिक तथा धर्म झल्किने स्टल साथै सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत रहनेछ ।
महोत्सवमा सात वटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिने नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङले बताए ।
महोत्सवमा ज्योती मगर, राजेशपायल राई, शान्तिश्री परिवार, तृषना गुरुङ, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, एलिना चौहान, पूर्ण राईलगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिने आयोजक संस्थाले जनाएको छ ।