मेचीनगर । झापाको मेचीनगर नगरपालिका अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिकालाई ८ - १ गोल अन्तरले पाखा लगाउँदै मेचीनगर प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
सुरूवाती चरणदेखि माइ नगरपालिका माथी हावी भएको मेचीनगरले खेलको पहिलो हापमा नै ३ गोल लगाएको थियो ।
मेचीनगरको तर्फबाट खेलको २३औं मिनेटमा कप्तान खमिर गिल्सन कन्दङ्गवाले गोल गर्दा २५ औं मिनेटमा सनम भुजेलले गोल गरे । त्यस्तै पहिलो हापको अतिरिक्त समयमा सनम भुजेल थप एक गोल गरे । यता माइ नगरपालिकाले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा कमजोर प्रस्तुति रह्यो ।
दोस्रो हापको सुरूवाती समयमा खेललाई सुधार्दै लयमा फर्काउने प्रयास गर्दै माई नगरपालिकाको तर्फबाट कप्तान सुजन नेम्वाङले ४३ औं मिनेटमा एक गोल गरे । तर, त्यसपछि पुनः मेचीनगर माइ नगरपालिका माथि हावी रह्यो । मेचीनगरका खमिर गिल्सन कन्दङ्गवाले ४५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । अरुण मेचेले खेलको ५१ औं मिनेटमा एक गोल लाए । त्यस्तै सनम भुजेलले खेलको ७५ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।
निर्धारित समय पुरै आफ्नो पक्षमा पारेको मेचीनगरले दोस्रो हापको पाँच मिनेटको अतिरिक्त समयमा समेत थप दुई गोल थप्यो । अतिरित्त समयमा मेचीनगरका सनम भुजेल र अरूण मेचेले थप एक एक गोल गरे ।
मेचीनगरकालागि ४ गोल गरेका सनम भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, प्रमुख अतिथि मदन बिक्रम नेम्वाङ र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।
गोल्डकपको भोली हुने तेस्रो क्वाटरफाइनलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा कैदले प्राकृतिक रंगशालामा आयोजना गरेको अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंसिर ५ गते हुने फाइनल खेलको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।