झापामा कर सप्ताह सुरु भएको छ । आन्तरीक राजश्व कार्यालय भद्रपुरको आयोजनामा विभिन्न कार्यक्रम गर्दै आजबाट कर सप्ताह मनाउन सुरु गरिएको हो ।
शनिबार सरोकारवालासंगको सहभागिमा प्रभातफेरी गर्दै सुरु गरिएको १३ औं कर दिवस विभिन्न कार्यक्रम गर्दै आगामी मंसिर ७ गतेसम्म मनाइने आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए ।
प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले पानसमा बत्ती बालेर गरेको उद्धघाटन कार्यक्रममा स्वागत कर अधिकृत ज्ञानेन्द्रबहादुर राईले गरेका थिए ।
कार्यालयका निमित्त प्रमुख डोरराज सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नायव सुब्बा सितादेवी खतिवडाले गरेकी थिइन ।
बिभिन्न सन्देशमुलक नारा लेखिएको प्ले कार्ड सहित ¥यालीले चन्द्रगढी बजार परिक्रमा गरेको थियो । प्रभातफेरीमा नेपाल अलैंची व्यवसायी महासंघ, बिर्तामोड उद्योग वाणिज्य संघ, उद्योग संघ भद्रपुर, चेम्बर अफ कर्मश, एसोसियन अफ चाटर्ड एकाउन्टेन , नेपाल उद्यमशिल महिला संघ सहित जिल्लाका बिभिन्न सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधिको बाक्लो सहभागिता रहेको थियो ।
कर सप्ताहका अवसरमा मंसिर २ मा करदाताशिक्षा, ३ गते आश्रममा फलफुल वितरण, ४ गते बुद्धशान्तिमा करदाता शिक्षा तथा अन्तरक्रिया सञ्चालन, ५ गते बजार क्षेत्रको अवलोकन सहित कर सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै मंसीर ७ मा समापन गरिने कार्यालयका निमित्त प्रमुख डोरराज सुनवारले जानकारी दिए ।
उनले मंसिर ७ गते उत्कृष्ट करदाता तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान–पत्र वितरण गर्दै कर सप्ताह समापन गरिने बताए । झापामा ४७ हजार करदाता रहेका छन् ।