अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमककालागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, बिकास राई र रजिन सुब्बाले गोल गरे ।
दमककालागि गौरब धिमाल, रोशन धिमाल र रोशन तामाङले गोल गरे । आषिश लावतीले गरेको प्रहार गोलपोष्टमा ठोकिएर फर्कदा दमकले पराजय भोग्यो ।
आजको खेलमा भद्रपुरका प्रदेश टुडुु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, प्रतियोगिताका संयोजक सिताराम भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।
गोलडकपमा भोलीबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोली हुने पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछन् ।