बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालमा कानको उपचार सेवा सुरु भएको छ । समुदायद्वारा सञ्चालित यस अस्पतालमा आज सोमबारबाट कानको उपचार सेवा सुचारु भएको हो । एक कार्यक्रमकाबिच बिर्तामोड नगरको मेयर पवित्रादेवी महतारा प्रसाईंले सेवाको शुभारम्भ गरिन् ।
मेची आँखा अस्पतालले बिर्तामोडमा लामो समयदेखि आँखाका बिरामीलाई सेवा दिंदै आएको छ । बिरामीको सुविधाकालागि आँखा अस्पतालभित्रै कानको उपचार सेवा थप गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
अस्पतालबाट न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको अस्पतालका सचिव गणेश पोखरेलको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको बताए ।
यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्नु पर्ने अस्पतालको बाध्यता थियो ।
दक्ष जनशक्तिको संलग्नतामा सुरु गरिएको कानको उपचार सेवाबाट बिरामीले लाभ लिन सक्ने डा. जोशी बताउंछन् ।
निकट भविष्यमा कानको अपरेसन सहित अन्य बिबिध उपकरण भित्र्याएर सेवा दिइने अस्पताल प्रशासनको भनाई छ ।
बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले आफनो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गरेका थिए ।