सन्तोष न्यौपाने÷झापा
झापाबाट इँटा भारत निर्यात हुन थालेको छ । पहिलो पटक झापाको मेचिनगर १५ स्थित सरिया ग्रिन ब्रिक इण्डष्ट्रिज प्रा.लिले भारतको पश्चिम बंगाल स्थित सिलीगुडी क्षेत्रमा इँटाको निर्यात सुरु गरेको हो ।
भारतको सिलीगुडी क्षेत्रबाट चाइनिज इँटाको माग धेरै नै आएको ग्रिन ब्रिक इण्डष्ट्रिज प्रा.लिको निर्देशक रजनिस कर्नानीले जानकारी दिए ।
कर्नानीका अनुसार हिजो मङ्लबार तीन वटा ट्रकमा ३० हजार प्रिमियम चाइनिज इँटा निर्यात गरिएको छ । परिक्षणकालागि पठाइएको उक्त नमुना स्विकृत भए पश्चात माग बमोजिमको इँटा निर्यात गरिने कर्नानी बताउंछन् ।
भारतबाट अत्याधिक मात्रामा इँटाको माग आएको पनि उनी बताउंछन् । नेपालमा खपत कम हुंदा भारतमा माग अहिले बढेको हो ।
मेसिन मेड ब्रिकलाई चलनचल्तीको भाषामा चाइनिज इँटा भनिन्छ । हेर्दा आकर्षक देखिने, साइज एक नासको , बलियो हुने भएका कारण भारतमा माग धेरै नै रहेको सञ्चालकहरुको भनाई छ ।
भारतको पश्चिम बंगाल सहित आसाम, मेघालय र बिहारमा मेसिनबाट यस्ता प्रकारका इँटा उत्पादन गरिंदैन । सिलीगुडि शहरमा भारतका अन्यन्त्रबाट इँटा ल्याउंदा धेरै नै टाढा पर्ने भएका कारण सीमा वर्ती क्षेत्र झापामा खोलिएको उद्योगमा इँटाको माग बढेको हो ।
सरिया ग्रिन ब्रिक इण्डष्ट्रिज नेपालको एक अत्याधुनिक प्रविधिको चाइनिज इँटा उत्पादन गर्ने उद्योग हो । यस उद्योगमा अत्याधुनिक प्रविधियुक्त मेशिन जडान गरिएका कारण यस उद्योगले बतावरणलाई पनि असर नगर्ने प्रबन्धक कर्नानीको भनाई छ ।
ध्वनी तथा बायु प्रदुषण रहित सुविधा सम्पन्न प्लान्ट जडित उद्योगमा अधिकांश काम मेशिनबाट हुने भएका कारण मजदुर पनि कम लाग्ने उनी बताउंछन् ।
यो उद्योग निमार्ण गर्न करीब ५ बर्ष लागेको सञ्चालक कैलाश सरीयाले जानकारी दिए । यो उद्योग फुल क्षमतामा सञ्चालन भए दैनिक ३ लाख इँटा प्रति उत्पादन गर्न सक्ने उनको भनाई छ । तर अहिले दैनिक १ लाख ५० हजार प्रति उत्पादन भइरहेको छ ।
नेपलमा चाइनिज इँटा उत्पादन गर्ने उद्योग तीन वटा छन् । तर झापामा स्थापना भएको यो उद्योग भने पहिलो पुर्ण प्रविधिबाट स्वचालित उद्योग हो ।