झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
शुक्रबार आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको साधारणसभामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्था दिवंगत शेयर सदस्य नारायणप्रसाद यादवको परिवारलाई सदस्य बिमा बचत वापतको दुई लाख रुपैयाँ प्रदान गरियो । नियमित बचतकर्ता यादवको गत कात्तिक २२ गते मृत्यु भएपछि संस्थाले उनको नाममा रहेको दुई लाख ५३ हजार ९७२ रुपैयाँ ऋण मिनाह, ४० हजार मृत्यु राहतसमेत प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि राजवंशी, संस्थाका अध्यक्ष प्रधान लगायतले दुई लाखको डमी चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले सहकारी संस्थाहरुले सदस्यको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले प्रदेश सरकारले खराब सहकारीलाई मात्र नभई ऋण नतिर्ने सदस्यलाई समेत कारबाही गर्ने व्यवस्था गरिरहेको बताए । उनले सदस्यले लिएको ऋण व्यवसायमा लगानी गर्न सके सदस्य र सहकारी दुवै बलियो हुने धारणा राखे ।
कार्यक्रममा नेफ्स्कुन झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र ओलीले सदस्यलाई असहज भएको अवस्थामा सहकारीले सघाएकाले सदस्यले पनि सहकारीलाई असहज भएको बेला काँध थाप्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रधानले आर्थिक वर्ष २०८०÷०८१ को संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले २०८१ असार मसान्तसम्म सदस्य संख्या ५६ हजार ४०९, चुक्ता शेयर पुँजी ५१ करोड, ९३ लाख ७५ हजार ७००, बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११०, कर्जा लगानी ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६, स्थिर सम्पत्ति १५ करोड ४४ लाख ५४ हजार ४५० रहेको जानकारी दिए ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रामकुमार गौतम गरेका थिए ।