बिर्तामोड
झापाको बिर्तामोड ६ स्थित गिरीबन्धु टी स्टेटको पश्चिम पर्खालमा विस्फोटक पदार्थ राखेर आतंक मच्चाएको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला घर भएका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोल घर भएका धीरज माझीलाई पक्राउ गरेको छ ।
गत भदौ २८ गते टी स्टेटमा विस्फोटक पदार्थ राखेर उनीहरू फरार भएको जनाउँदै प्रहरीले खोजी अभियान सुरु गरेको थियो । घटनास्थलमा उनीहरूले नेकपा माओवादी पूर्व केन्द्रीय कमाण्डका नाममा गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन लेखिएको पर्चा छोडेका थिए ।
सूक्ष्म अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको बताए ।
फरार यी दुई अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । उनीहरू उपर अदालतबाट तीन दिन म्याद थप गरी विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।