सन्तोष न्यौपाने÷झापा
दुर्घटना न्यूनीकरण गर्न झापासहित पूर्वका तीन जिल्लामा आजबाट टाइमकार्ड लागु गरिएको छ । तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु गरिएको हो ।
आज बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रमबिच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरेका छन्
। मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइम कार्ड लागु गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बसहरुको समयसीमा निर्धारण गर्न थालिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा टाइमकार्डको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग एशियन हाइवेमा रुपान्तरणका लागि निमार्ण कार्य सुरु भएसंगै ट्राफिम व्यवस्थापनमा जोखिम बढीरहेको छ । साघुरो सडक त्यसमा पनि यातायातको अस्वस्थ प्रतिस्पर्धाले झनै सवारी दुर्घटना बढ्दो क्रममा रहेको यातायातकर्मीहरूको भनाइ छ । सरकारले टायम काड लागू गरेपछि अब आफुहरूलाई सहज हुने सवारी चालक बताउँछन् ।
मध्यम दूरीका सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा सार्वजनिक सवारीसाधनलाई टाइम कार्ड लागु गरिएको र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरूका लागि काँकरभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरूका लागि दमकको तारावारी, लक्ष्मीपुर र काँकरभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
टाइमकार्ड अनुसार अब काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।
तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइम कार्ड लागु भएको र त्यसलाई पुर्णरूपमा कार्यान्वयन गराउन जिल्ला मातहतका प्रहरी तथा ट्राफिक प्रहरी लागि पर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मिलन केसी बताउँछन् । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको बताउँदै उनले गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका उनको भनाइ छ ।
त्यस्तै बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि अब यातायातकर्मी, सर्वसाधारण सबै सरोकारवाला निकायले टाइमकार्डको पुर्णरूपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउँछन् ।
टाइमकार्डले सवारी दुर्घटना र मानवीय क्षति न्यूनिकरणमा केही हदसम्म सहयोग पुर्याउने विश्वास राज्यले लिइएको उनको भनाइ छ ।