बिर्ताबजार । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस मनाइएको छ ।
नारायण गोपाल स्मृति प्रतिष्ठानले नेपाली सांगीतिक क्षेत्रका महान व्यक्तित्व नारायण गोपालको स्मृति सभा हिजो सांझ विविध कार्यक्रम गरी मनाएको हो । बिराट ज्योति अंग्रेजी माबिमा बुधवार साँझ भएको कार्यक्रममा गायक झलक संग्रौला, समिर खरेल, तुलसा पाठकलगायतका कलाकारहरुले स्वर सम्राट नारायण गोपालका गीत प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गायक तथा संगीतकार कोमल निरौलाको प्रमुख आतिथ्य रहेको थियो । प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले प्रतिष्ठान स्थापना गर्नुका कारण र अक्षयकोषका बिषयमा जानकारी दिदै स्वर सम्राट नारायण गोपालको छोटो जीवनी प्रस्तुत गरेका थिए ।
उनले प्रतिष्ठान सञ्चालनका लागि स्थापना गरिएको कोषमा २०० वढी दताहरुले आर्थिक सहयोग गरेको जानकारी दिदै सोही कोषबाट प्रतिष्ठान सञ्चालन गरिदै आएका बताए ।
कार्यक्रममा अग्रज गायक तथा संगीतका हस्त परिवारसहित बिभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव रुद्र सिटौलाले गरेका थिए । कार्यक्रममा कोषदाता, बिभिन्न बिधाका श्रष्टा, स्थानीय कलाकार, समाससेबी, स्थानीयलगायतको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रमकाबिच बिपन्न रोगीहरुलाई समेत आर्थिक सहयोग गरिएको थियो ।