झापा
झापाका निर्माण व्यवसायीहरुको व्यावसायिक छाता संगठन निर्माण व्यवसायी संघ झापाको १६ औं वार्षिक साधारणसभा अधिवेशन आउँदो पुसको तेस्रो साता विर्तामोडमा हुने भएको छ ।
संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा यसै साता बसेको कार्यसमितिको पूर्ण बैठकले संघको १६ औं वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन झापाको विर्तामोड २ स्थित हिमाल सागर पार्टी प्यालेसमा गर्ने निर्णय गरेको संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए । पुस २१ गते साधारणसभाको उद्घाटन तथा बन्द सत्र हुनेछ भने २२ गते कार्यसमिति चयनका लागि निर्वाचन हुने महासचिव निरौलाले बताए ।
१६ औं साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई निमन्त्रणा गरिएको पनि महासचिव निरौलाले बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत केन्द्रीय नेतृत्वहहरुको उल्लेख्य सहभागिता रहने पनि निरौलाले बताए ।
यो साधारणसभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकोले झापाली निर्माण व्यवसायी माझ चुनावी चहलपहल पनि शुरु भइसकेको बुझिएको छ । अध्यक्षलगायत पदाधिकारी र सदस्यका आकांक्षीहरु देखिन सुरु भइसकेको एकजना निर्माण व्यवसायीले बताए ।
संघले अधिवेशनमा सहभागिताका लागि संघमा दर्ता भएका सदस्य फर्महरुलाई पुस १५ गतेसम्ममा नविकरण गर्न सूचित पनि गरिसकेको छ । यसपटक अधिवेशनमा ३५० को हाराहारीमा प्रतिनिधि सहभागी हुनसक्ने संभावना रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।