वीरगञ्ज – सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि प्रहरीले उनलाई वीरगञ्ज ल्याएको हो।

उनलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै हवाईमार्गबाट सिमरा विमानस्थलसम्म ल्याइएको थियो। सिमरादेखि सडकमार्गबाट उनलाई वीरगञ्ज ल्याइएको हो।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ८ करोडभन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहँदा गोर्खा मिडियामा गएको थियो। लामिछानेविरुद्ध बुधबार पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

उनलाई भोलि अदालतमा उपस्थित गराइने पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए। सहकारीको रकम अपचलनमा बयानका छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट सोमबार बिहानै वीरगञ्ज ल्याइएको उनले बताए।

लामिछानेलाई सिमराबाट वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए।