नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर तथा एमालेका जिल्ला सदस्य ध्रुवकुमार शिवाकोटीमाथि चार वटा महिला संगठनहरुले हदैसम्मको कार्बाहीको माग गरेका छन् ।

बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला संगठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । 

स्थानीय सरकारको नेतृत्व गरिसकेका व्यक्ति यस्तो हर्कतमा उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको र सम्पूर्ण नगरबासीले शिर निहुर्याउनु पर्ने अवस्था सिर्जना भएको छ ’ विज्ञप्तिमा भनिएको छ । 

उनीहरुले पहुँचको आधारमा दोषीले उन्मुक्ति पाउने कार्य गरे कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । साथै पीडित बालिकाको स्वास्थ्य अवस्था चेकजाँच गरी उनको प्रभावकारी उपचारका साथै जीउज्यानको आवश्यक सुरक्षा व्यवस्था गर्न मागसमेत गरेका छन् ।

अनेम संघ (क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाकी अध्यक्ष हरिमाया न्यौपाने , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाकी अध्यक्ष दिलकुमारी सीले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् ।

किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


जिल्ला अदालत झापाले आज शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका (प्रबक्ता)डीएसपी कृष्ण चन्दले बताए । 


46d80086-d028-4bcb-8dcf-0b3a200936a7-1024x833