झापा
झापाको बिर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । स्व. निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक बिष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छा अनुरुप नै अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा सहयोग गर्दै आएको बताए ।
प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश शिर्षक’ निबन्ध प्रतियोगिताका प्रतियोगीलाई आज (शनिवार) बिर्तामोडमा नगदसहित सम्मान गरेको हो ।
निवन्ध प्रतियोगितामा प्रथम हुने देबी माध्यमिक बिद्यालयकी छात्रा ज्योती ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माबिकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले सम्मान गरेको छ । उनीहरुलाई क्रशम ७० हजार, ५० हजार र ३० नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
यसैगरी छात्रा निर्जला आचार्य, दिप्ति सुवेदी, तृया सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला र छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्तवना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलगायतले सम्मान गरेका थिए ।
स्वागत तथा औचित्यमाथि प्रकाश प्रतिष्ठानका अध्यक्ष ओलीले पारेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव बिद्रोहीले गरेका थिए ।
प्रतिष्ठानका संरक्षक भेटवालले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताएका छन् । उनले बिपन्न परिवारका पढ्ने चाहेर पनि नसकेका बिद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोग साथै अगाडी पढ्ने भए थप समन्वय गर्ने र गरिदै आएको समेत उनले बताएका छन् ।
व्रेन ट्युमरका कारण अकालमा ज्यान गुमाएकी छोरीको स्मृतिमा उनका बुबा आमाले प्रतिष्ठान स्थापना गरेका हुन् ।
प्रतिष्ठानको सहयोगमा बिर्तामोड–७ स्थित भुसाबारीमा रहेको बेल्स मोडल स्कुलमा १० जना बिद्यार्थी अध्ययनरत रहेको सोही बिद्यालयका प्रिन्सिपल तारा प्रसाईले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका मेयर बलदेशसिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाललगायतले आ—आफ्नो धारणा राखेका थिए । निवन्ध प्रतियोगिताका सदस्य डा. ठाकुरप्रसाद पोखरेलले निबन्ध प्रतियोगिता सञ्चालनका बिषयमा जानकारी गराएको कार्यक्रममा निबन्ध प्रतियोगिताका बिजेताहरुको नाम होम सुवेदीले घोषणा गरेका थिए ।