झापा । झापाको हल्दिबारी गाउँपालिकामा पशुपक्षीको व्यवस्थित उपचारका लागि पशु उपचार अस्पताल सञ्चालनमा आएको छ ।
कृषि तथा पशुपालन व्यवसायमा निकै संभावना रहेको हल्दिबारी क्षेत्रका पशुपंक्षीको उपचारका लागि अन्यत्र लैजानु नपरोस् भन्ने उद्देश्यले सुविधासम्पन्न भवनमा सञ्चालनमा ल्याइएको ल्यावसहितको पशु उपचार अस्पतालको एक समारोहका बीच पूर्व उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथ झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनले उद्घाटन गरेका छन् ।
नवनिर्मित अस्पताल परिसरमै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि लिङदेनले अस्पतालको उद्घाटन गरेका हुन् । समारोहमा उनले हल्दिबारी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायत सबै क्षेत्रमा उल्लेख्य विकास गर्दै गएको बताउँदै गाउँपालिकामा सुविधासम्पन्न पशु अस्पताल सञ्चालनले किसानहरुलाई लाभ पुग्ने बताए ।
गाउँपालिकाका प्रशासन प्रमुख राजन न्यौपानेले सञ्चालन गरेको समारोहमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले स्वागत गर्दै सम्झौता अवधिभित्र अस्पताल भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा ल्याउन सकिएको जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र गाउँपालिकाको थप रकमसमेत गरी ६२ लाख ९२ हजार ५५१ रुपैयाँ लागतमा सिराहाको एञ्जिलिना कन्स्ट्रक्सन एउण्ड सप्लायर्सले पशु उपचार भवन निर्माण गरेको हो । २०८० चैत १४ मा सम्झौता गरेको निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने २०८१ कात्तिक मसान्तभित्रै भवन निर्माण सम्पन्न गरेको उनले बताए ।
समारोहमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी वरिष्ठ मत्स्य विकास अधिकृत शितल भट्टराई, वडा नं २ का वडाध्यष शुकलाल राजवंशी, नेकपा माओवादी ९केन्द्र०–का धर्म शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।