इलाका प्रहरी कार्यालय सुनसरी धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश जबेगु कोशी प्रदेशको मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको बन्दै जबेगुलाई २०८१ साल मंसिर महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धनकुटा बाट धरान आउंदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुई वटा गाडिबाट लागु औषध गाँजा बरामद गर्न डिएसपी जबेगु सफल भएको भन्दै कोशी प्रदेशले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
२०८१ साल मंसिर १८ गते सुनसरी जिल्लाको धरान उप महानगरपालिका वडा नम्बर १३ अमरहाट त्रिवेणी चोकबाट गोप्य सुचनाको आधारमा उक्त गाडि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सो क्रममा प्रहरीले ४ राउण्ड गोली फायर गरेर गाँजा तस्करीमा संमलग्नलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको भन्दै डिएसपी जबेगुको प्रशंसा गरिएको छ ।
साथै उनले बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी प्रक्राउ गर्न सफल भएको तथा करीब १७ लाख रुपैंया बढीको चोरी पैठारीको सामान बिभिन्न सामानहरु बरामद गर्न सफल भएको भन्दै कोशी प्रदेशका प्रहरी नायब महानिरिक्षक चन्द्र कुबेर खापुङ्ले उनलाई पुरस्कृत गरेका हुन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।