काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष महेन्द्रकुमार गिरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा आफूहरू राजनीति गर्न नआएको स्पष्ट पारेका छन् । बुधबार बैंकको २१ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष गिरीले भने, ‘राष्ट्रिय सहकारी बैंकभित्र हामी राजनीति गर्न आएका होइनौँ । र, राजनीति पनि गर्दैनौँ । यसलाई पूर्ण व्यवसायिकरुपमा अगाडी बढाउँछौँ ।’
आगामी दिनमा सदस्यलाई सुविधा दिनेमा तत्पर रहने समेत प्रतिबद्धता जनाउँदै उनले भने, ‘सहकारी बैंकलाई अब पूर्णरुपमा व्यवसायिकरुपमा अगाडि बढ्नेछ । सहकारीमा आधारित पूर्ण व्यावसायिक बनाउने हाम्रो प्रतिबद्धता छ ।’
बैंकहरुमा खराब कर्जा बढेर समस्या आउने र बेसरेट बढी भएर प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको उनको भनाई छ । राष्ट्रिय सहकारी बैंक बचाउनका लागि सदस्य, कर्मचारीहरूको सहयोगको आवश्यकता रहेको समेत उनले बताए । उनीहरूलाई अध्यक्ष गिरीले व्यवस्थापन र सुधारका कदम चाल्नका लागि सहयोग अपिल गरे ।
कर्मचारीहरूमा असल संस्कार नभएको गुनासो आएकाले त्यसलाई सुधार गर्ने उनले जानकारी दिए । अध्यक्ष गिरीले भने, ‘कतिपय कुराहरूमा गुनासो आएको छ । हाम्रा कर्मचारीहरूमा असल संस्कार भएन, सञ्चालकहरूमा पनि भएन भन्ने कुरा आएको छ । असल संस्कार बनाउने र पूर्णरुपमा सुशासन बनाउने तर्फ प्रतिबद्ध छु ।’
पुसभरि सुझावहरू संकलन गरेर आगामी कार्यदिशा बनाएर अबको दुई वर्षभित्र यसलाई कुन रूपमा पाउँछौँ भन्नेबारेको काम भइरहेको समेत उनले दाबी गरे ।
‘यही पुषभित्र सुझावहरू संकलन गरेर आगामी कार्यदिशा के हुनसक्छ रु आगामी दुई वर्षभित्र यसलाई कुनरुपमा पाउन सक्छौँ रु’, उनले अगाडी भने, ‘राष्ट्रिय सहकारी बैंक मात्रै मोटायो भने हाम्रा सदस्यहरू बाहिरिन सक्छन् । त्यसैले एउटा व्यक्तिको मात्रै होइन हामीले सबैको जित हुने गरेर काम गर्नेछौँ ।’ nepalpress.com