झापा 

झापा बिर्तामोडका दुईवटा पसलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । बिर्तामोड स्थित पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा टायल्समा  राजश्वले छापा मारेको हो । भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले उक्त पसलमा छापा मारेको हो । 

राजश्वका कर्मचारीले ती पसलका स्टक बुकलगायतका कागजपत्र लिएर गएको बताइएको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख उत्तम घिमिरेको नेतृत्वमा आएको टोलीले गोप्य सुचनाका आधारमा उक्त पसलमा छापा मारेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख घिमिरेले गोप्य सुचनाका आधारमा छापा मारिएको पुष्टि गरे । उनले कागजातहरु लगिएको र घटनाका बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।  

राजश्वको टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनले यदी गल्ती गरेको भेटिए कारवाही गर्नु तर पसल शिल गर्दा ब्यवसायीमा नकारात्मक असर पुग्ने बताएपछि टोली पसल शिल नगरी फर्किएको थियो ।