बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ ।
संस्थाले आज स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको अवसरमा रजत महोत्सव शुभारम्भ गरेको छ । संस्थाले आज रजत महोत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान तथा छात्रबृत्ति बितरण गरेको छ ।
बिर्तामोडमा २५ जना जेष्ठ नागरिक सम्मान तथा २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । संस्थाको नीति अनुसार संस्थाको सेयर सदस्य बनेर १० वर्षदेखि नियमित कारोबार गरिरहेका ७० वर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको हो ।
यो वर्ष संस्थामा यस्ता सदस्यहरुको संख्या ६४ जना रहेको र आज सांकेतिकरुपमा बिर्तामोड आसपासका २५ जनालाई उक्त रकम प्रदान गरी सम्मान गरिएको अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए ।
संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने १०० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्नेक्रममा आज २५ जनालाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त छात्रवृत्ति तथा ज्येष्ठ सदस्य सम्मान रकम संस्थाका अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पविधा महत्तरा प्रसाईं, विशिष्ट अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले हस्तान्तरण गरेका थिए ।
संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए । झापा, मोरङ र इलाम गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको संस्थाको हाल ५६ हजार शेयर सदस्य छन् ।