झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी बिच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आज अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमबिच अर्जुनधारा नगरपालिका नगरप्रमुख बलदेव सिंह गोम्देन र जापानको तोनो सिटीको मेयर काजुहिको ताडाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर पश्चात् कुरा गर्दै नगरप्रमुख गोम्देनले शिक्षा, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए ।
उनले जापानको तोनो सिटी र अर्जुनधारा नगरपालिकाबिच आपसी सहयोग आदानप्रदान र प्रवर्द्धनका लागि भगिनी सम्बन्ध कायम गरिएको बताए ।
नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुसरण गर्ने उनको भनाई छ ।
नगर प्रमुख बलदेवको मैत्रिपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली २ दिने भ्रमणका अर्जुनधारा नगरपालिका आएको हो ।
क्षेत्र नम्बर २का सांसद तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समेतको नगरपालिका भएको हुनाले विशेष महत्वका साथ संघीय सरकारसँग पनि समन्वयात्मक कार्यक्रमहरू गर्ने प्रतिवद्धता दुवै मेयरहरूले गरेको सभामुखका स्वकीय सचिव केशब ढुङ्गेलले जानकारी दिए ।