बिर्तामोड : नेपाल अलैंची व्यवसायी महासङ्घले अलैँची उत्पादनदेखि बजारीकरण सम्म अनेकौं समस्या रहेको भन्दै समस्या समाधानको पहल गर्न सरकार समक्ष आग्रह गरेको छ । 

‘कालो सुन’ को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सरकार गम्भिर हुनु पर्ने महासंघको भनाई छ । 

आज बिर्तामोडमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङनाम्लाई महासंघका अध्यक्ष निर्मल भट्टराई सहितको व्यवसायीको टोलीले ध्यानाकर्षण गराएको हो । 

महासंघले आयोजना गरेको अलैंचीको प्रबद्धन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा अलैंचीको उत्पादनदेखि बजारसम्म देखिएका कृषक र व्यवसायीका समस्या समाधानमा सरकारले नै पहल गर्नु पर्ने आवाज उठेको हो ।   अलैँची खेती, उत्पादन, प्रशोधन, ग्रेडिङ तथा बजारीकरणमा महासंघले आफ्नो क्षेत्रबाट बिभिन्न सरोकारवाला निकाय संग मिलेर काम गर्दै आएको भएता पनि त्यो पर्याप्त हुन नसकेको महासंघका अध्यक्ष निर्मल भट्टराईको भनाई छ । 

WhatsApp Image 2024-12-20 at 06.00.49

अन्तक्र्रियामा सहभागी कृषक तथा व्यवसायीले प्राविधिक ज्ञानको अभावले सही तरिकाले खेती गर्न, माटो परीक्षण गरी अलैँचीको उपयुक्त प्रजाति रोपण गर्न नसकेको, अलैँचीको बिरुवामा देखिने समस्या  जस्ता गुनासो मन्त्री समक्ष राखेका थिए । 

पछिल्ला वर्षमा अलैँचीको बगान नै सुक्ने, अलैँचीको दाना कुहिने जस्ता नयाँ समस्या देखिएका छन् ।  मन्त्री हाङनामले अलैंचीका बिषयमा आफु जानकार रहेको बताउंदै समस्या हल गर्न प्रदेश सरकारले  पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  

  समस्या समाधानका लागि महासङ्घले पछिल्लो समय अलैँचीको घरेलु खपत बढाउने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको अध्यक्ष भट्टराईले जानकारी दिए । यस्तै अलैँचीको ग्रेडिङ र गुणस्तरीय उत्पादनमा समेत महासङ्घले कृषकलाई सहयोग गर्दै आएको छ ।

छलफल कार्यक्रममा ओमकृष्ण बिमली, सुजित वंशल, प्रकाश नेपाल, सुष्मा भण्डारी पौडेल, हरि मिश्र, रामकृष्ण अधिकारी, रोशनलाल अग्रवाल, पार्वता बिमली खरेल , महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गाना लगायतले अलैंचीमा देखिएका समस्याका बारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।