भद्रपुर : प्रेस क्लब भद्रपुरले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई बधाई तथा सम्मान गरेको छ ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा झापाका नवनिर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो । कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर(८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथि पोखरेलले पत्रकारहरुसँग नगरपालिकाले सदैव सहकार्य गर्ने बताउनुभयो । उहाँले नगरपालिकालाई सञ्चारमैत्री बनाउनका लागि सञ्चार ऐन निर्माणको काम अघि बढाएको बताउनुभयो । नगरबाट सञ्चालित मिडियालाई विशेष प्राथमिकता दिएको बताउँदै उहाँले आगामी दिनमा समेत नगरले विशेष प्राथमिकतामै राख्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले पत्रकारिताको माध्यमबाट समाजमा देखिएका विकृति हटाउनुपर्नेमा जोड दिनु भयो । उहाँले जनप्रनितिधिले गरे राम्रा कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न सुझाव दिँर्द उहाँले भन्नुभयो, “समुन्नत समाज निर्माणका लागि तपाईंहरुको कलम र कदम नरोकियोस् ।”
कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं। ८ का अध्यक्ष जनप्रतिनिधिले गरेको राम्रो कामका बारेमा सञ्चार क्षेत्रले उजागर गर्नुपर्ने बताउनुभयो । “जनताले काम गरे नगरेको मिडियाबाटै थाहा पाउने हो”, उहाँले भन्नुभयो, “जसले जनप्रतिनिधिलाई काम गर्ने ऊर्जा थपिन्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सूचना प्रविधिको विकाससँगै मिडिया क्षेत्रमा चुनौती खडा भएको बताउनुभयो । “सामाजिक सञ्जालहरुले मिडियालाई चुनौती थपिरहेको छ”, उहाँले भन्नुभयो, “मिडियाकर्मीले पनि सोही अनुरुप अघि बढ्न जरुरी छ ।” उहाँले आगामी नेतृत्वलाई त्यसतर्फ ध्यान दिनु आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविनचन्द छेत्रीले पत्रकारितामा राजनीति हावी भएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले पत्रकार जुन आस्थामा भए पनि पहिला पत्रकार भएकाले पत्रकार र पत्रकारिताको श्रीबृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्नुहुँदै पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले पत्रकारहरु समाजमा बद्नाम भइरहेकाले आचरण सुधार गर्नुपर्ने औंल्याउनुभयो । पत्रकारहरुका्े आचरण सुदृढ गर्न आफूहरु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले सबै क्षेत्रको सहयोग लिएर संकटमा परेको मिडिया क्षेत्रलाई उकास्न लागिपर्ने बताउनुभयो । “सिंगो कार्यसमितिले लाग्छौं”, उहाँले भन्नुभयो, “पत्रकारितालाई सुदृढ बनाउन लाग्छौं, सबै कार्यसमितिको सहयोगले कार्यकाल सफल बनाउँछौं ।”
कार्यक्रममा प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले सञ्चार गृहको प्रबद्र्धनमा तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । भद्रपुर नगरपालिका सञ्चारमैत्री भएको बताउँदै त्यसमा नगरप्रमुख–उपप्रमुखसँगै सबै जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । अग्रज पत्रकार गोपाल गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रेस क्लब भद्रपुरका उपाध्यक्ष रोहित काफ्लेले गर्नुभएको थियो ।