झापा,
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले अबका दिनमा सहकारी संस्थाहरुले लाभांश बाँड्न भन्दा पनि सदस्यको सुविधा बृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
हालै मात्र निर्वाचित बैंकका नवनियुक्त अध्यक्ष गिरीले कबुल गरेर लाभांश यती दिन्छु भनेर सहकारीहरुले सदस्यलाई शेयर हाल्न लगाउने काम अब गर्न नहुने बताए । झापाको बिर्तामोडमा आज सतासी बहुउद्देश्यीय सहकारी संस्था को २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले उदेश्य सहि भए तथा इच्छा शक्ति भए हरेक कुरा गर्न सकिने बताए । नेपालकै नमुना सहकारीको रुपमा रहेको झापा बिर्तामोड २ मा रहेको सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत समेत रहेका गिरीले आगामी ६ महिना भित्रमा राष्ट्रिय सहकारी बैंमा परिवर्तन देखिने गरी काम गर्ने बताए ।
उनले अझ स्पष्ट पार्दै भने, भाषण गर्ने कार्यक्रममा सहभागी नहुने योजना बनाए छु , यहां चैं लोकल ठाउं र सहारा नेपालको प्रतिनिधित्व गर्दै आएको हुं । ’
उनले राम्ररी चल्न नसकिरहेका सहकारीका डिपार्टमेन्ट स्टोर र सहकारी उद्योगलाई सस्तो व्याजमा ऋण दिने योजना रहेको पनि सुनाए ।
सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य केशब बस्नेत , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, महिला उद्यमी संघ झापाकी अध्यक्ष सुष्मा पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी र सतासी बहुउद्देश्यीय सहकारीका निवर्तमान प्रवन्धक सन्तोषकुमार श्रेष्ठलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष सुजता गुरुङ थापा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव झलेन्द्रप्रसाद दाहालले गरेका थिए ।