झापाको अर्जुनधारा नगरपालिकामा गत मंसीर २५ गतेदेखि अर्जुनधारा–७ नं. वडा कार्यालयबाट शुरु भएको अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम अन्र्तगतको शिविर सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गर्ने उद्देश्यले शुरु भएको शिविर सोमबार अर्जुनधारा–६ नं. वडा कार्यालयमा सम्पन्न भएको छ ।
नगर उपप्रमुख एवम् अपाङ्गता नगर समन्वय समितिकी संयोजक खड्गमाया पराजुलीले सबै ११ वटा वडामा सञ्चालन भएको शिविरमा एक हजार २७१ जना लाभग्राहीले सेवा लिएको जानकारी दिइन् ।
उनका अनुसारपरिचय पत्र प्राप्त गर्ने जम्मा ९८९ जनामध्ये २०२ जनाले रातो, ४०२ जनाले निलो, २५२ जनाले पहेंलो र १३३ जनाले सेतो परिचय पत्र प्राप्त गरेका छन् ।
त्यस्तै शिविरमा थप नयाँ ४२७ जनाले अपाङ्गता परिचय पत्र प्राप्त गरेको र १३१ जनाको प्रक्रियाका लागि अपाङ्गता नगर समन्वय समितिमा लानुपर्ने भएको बताइएको छ ।
सोही कार्यक्रममा शिविरमा निरन्तर सेवा प्रदान गर्ने अर्जुनधारा–९स्थित शनिश्चरे अस्पतालका मेडिकल अधिकृतद्वय डा.उमाशंकर सिंह र डा.दीपा बखती, लाहान–२ निवासी इएनटी सहायक वीरेन्द्रप्रसाद साह, बुढानिलकण्ठ–६ निवासी मनोविद् प्रविना कार्की र बिर्तामोड–५ निवासी फिजियोथेरापिष्ट मार्विन देवानलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा चालु आर्थिक वर्ष ०८१÷०८२देखि शुरु भएको उक्त कार्यक्रम अन्र्तगत आयोजना गरिएको शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार स्वास्थ्योपचार, सहायक सामग्री, शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तिकरणका क्षेत्रमा सहयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
नगर उपप्रमुख पराजुलीको अध्यक्षता र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए ।
टोलीमा संलग्न राजश्व शाखा प्रमुख एवम् प्रमाण पत्र प्रमाणित गर्ने अधिकारी डेनजनी आचार्यले शिविरको औचित्य बारे जानकारी गराएको उक्तकार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख सूर्यमाला लिम्बूले गरेकी थिइन् ।