बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना ऋणि सदस्यको मृत्यु पश्चात अढाई लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ ।
संस्थाको राजगढ सेवा केन्द्र अन्तरगतका सदस्य बाह्रदशी गाउँपालिका वडा नं। ७ डाँगीबारीकी सितादेवी राजवंशीको हालै निधन भएकाले उनको नाममा बाँकी रहेको ऋण मिनाहा गरिएको हो ।
मृतक राजवंशीले कर्णाली साकोसबाट ५ लाख रुपैयाँ ऋण लिएको र सोमध्ये आधा रकम बुझाएकोमा मंसिर २५ गते उनको निधन भएकाले बाँकी ऋण मिनाहा गरिएको ऋण उपसमितिका सदस्य सूर्य कार्कीले जानकारी दिए ।
संस्थाको तर्फबाट समवेदना पत्र र मानोचामल खर्च १५ हजार रुपैयाँसहित सचिव भुपाल बस्नेतको नेतृत्वमा मृतक सिताको १२औं पुण्य तिथिका दिन निजघरमा नै उपस्थित भएर छोरा जयनारायणलाई २ लाख ५४ हजार १८० रुपैयाँ ८० पैसा ऋण मिनाहाको पत्र प्रदान गरिएको हो ।
कर्णाली साकोस राजगढ सेवा केन्द्रका प्रमुख मित्रबहादुर बस्नेतका अनुसार मृतक राजवंशी २०७१ सालमा कर्णाली साकोसको सदस्य भएर नियमित बचत तथा ऋणको असल कारोबार गर्दै आएकी सदस्य हुन् ।