झापा
नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते हुने भएको छ ।
प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा झापामा गर्न लागिएको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
केन्द्रले मुटु रोगसम्बन्धी सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । केन्द्र र यसका गतिविधिको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको उनले बताए ।
डक्टर मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरूमा तदर्थ समिति विस्तार गरी ७७ वटै जिल्लाबाट कार्य गर्दै आएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिए ।
केन्द्रले मुटुका बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै सहिद गङ्गालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरूसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए ।
केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरूलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए । गत वर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रमको अवधिमा स्वयमसेविकाहरूलाई प्राविधिक तालिम दिनुका साथै बिएन्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
पुस १३ गते शनिबार दिउँसो केन्द्रका केन्द्रीय अध्यक्ष डक्टर सत्यनारायण सुवालले कार्यक्रमको उद्घाटन गर्नेछन् ।
कार्यक्रममा सहभागीहरूलाई झापाका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेका थिए ।