झापा
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी सुरु भएको छ ।
पुस्तक प्रर्दशनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागि हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रर्दशनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ ।
नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रर्दशनीको अवलोकन गर्ने छन् । उनले भने, ‘पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि यो कार्यक्रम महत्वपुर्ण हुने छ ।’
पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा यस अघि २०८० को मंसिरमा साविककै ठाँउमा पहिलो पुस्तक प्रदशनी भएको थियो ।
महासंघ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने महासंघका केन्द्रिय सह कोषाध्यक्ष रविन बरालले बताए । उनले भने,‘ यो पुस्तक प्रदर्शनीमा करिव १ लाख ले अवलोकन गर्ने छन् ।
’चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागर शर्माले जानकारी दिएका छन् ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश, श्रीलङका, क्यानाडा, इटाली, जिम्वावे, सहितका अधिकांश देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू निर्माण हुने छन् । देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहररूको जमघट हुने महासंघका महासचिव बिष्णु प्रसाद पौडेलले बताए । उनले भने ’प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’
महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ ।
महोत्सव नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बिच छलफल , बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ ।
प्रर्दशनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका ५ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागती जनाउने महासंघले जनाएको छ ।