काठमाण्डौ – न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पाँचथरको फिदिम माविको मैदानमा भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई १–० गोलले हराएर उपाधि नजिकै पुगेको हो । मच्छिन्द्रको लागि दयानन्द सिँहले गोल गरे ।
अब मच्छिन्द्रले उपाधिको लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।