इटहरी । राप्रपा अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोधसभामा अध्यक्ष लिङदेनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिनेछैन र रोकिन पनि हुँदैन ।’

उनले नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य रहेकोमा जोड दिए ।

विरोधसभाका राप्रपाको निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको दाबी गरे । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए ।

डा। लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डसँग कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसदमा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी थियो ।

महामन्त्रीद्वय राजेन्द्र गुरुङ, प्रल्हादप्रसाद शाहले प्रदेश संरचना खारेजी, अधिकार सम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट«, सहकारी पीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा(स्वास्थ्य(रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधान जस्ता विषयहरू राप्रपाले निरन्तर उठाउने बताए ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीको दिनगन्ती सुरु भएको बताए । राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिन, सहकारी पीडितहरुको बचत फिर्ता गराएरै छाड्ने बताए ।

विरोधसभामा सहभागी हुन पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरु इटहरीमा भेला भएका थिए । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिन विरोसभा आयोजना गरिएको राप्रपाले जनाएको छ ।

विरोध कार्यक्रमलाई निर्देशन समितिका सदस्य रामकुमार सुब्बा, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर सुवेदी लगायतले सम्बोधन गरेका थिए । nepalpress.com