सन्तोष न्यौपाने÷झापा
नेपालको पूर्वी कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयले झण्डै ३ वर्षपछि राजस्व लक्ष्य भेटाउन सफल भएको छ । विगत २ आर्थिक वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएको मेची भन्सारले चालू आर्थिक वर्षको मंसिर महिनामा लक्ष्यभन्दा बढी (एक सय ६ दशमलब ०.६ प्रतिशत) राजस्व संकलन गरेको हो ।
आर्थिक वर्ष २०७९÷८० देखि राजस्व लक्ष्य भेटाउन नसकेको भन्सारले चालू आर्थिक वर्षको मंसिर महिनामा भने लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुंडालले जानकारी दिए ।
उनका अनुसार मंसिर महिनाका लागि भन्सार विभागले १ अर्ब ३५ करोड ४१ लाख ४० हजार लक्ष्य तोकेकोमा १ अर्ब ४३ करोड ६१ लाख ८४ हजार राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा झण्डै ७ करोड बढी हो ।
पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र आर्थिक गतिविधि पनि बढेकोले मंसिर महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत चुंडालले बताए ।
‘राजस्व चुहावट नियन्त्रणसँगै विभागले तोकेको लक्ष्यलाई यसवर्ष भेटाउने गरी काम गरिरहेका छौं ।’ उनले भने । चालू आवका आउने महिनाहरुमा पनि लक्ष्य भेटाउने गरी भन्सारले योजनाबद्धरुपमा काम गरिरहेको प्रमुख चुंडालले बताए । भन्सार टिमले खटेर काम गर्दा सफलता मिलेको उनको भनाइ छ ।
भन्सार विभागले लक्ष्य पार नभएपनि चालु आर्थिक वर्षका लागि विगतको वर्ष भन्दा केही लक्ष्य घटाएको छ । पछिल्लो समयदेखिएको आर्थिक मन्दीका कारण पनि भन्सारले लिएको लक्ष्यमा प्रगती हुन नसकेको भन्सार अधिकृत तथा सुचना अधिकारी गणपत्ती कडेंलको भनाई छ ।
विभागले मेची भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलनको वार्षिक लक्ष्य तोकेको छ ।
तथ्याङक अनुसार साउनमा १ अर्ब २९ करोड ५३ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९०.९८ प्रतिशत अर्थात् १ अर्ब १७ करोड ४० लाख ९१ हजार मात्रै संकलन भएको थियो भने, भदौमा १ अर्ब ४१ करोड २९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८८.२५ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ६८ लाख १० हजार २ रुपैंया मात्रै संकलन भएको थियो ।
पछिल्ला वर्षमा राजश्व संकलनमा मुख्य योगदान दिने मुख्य वस्तु आयात नै खुम्चिँदा राजश्व संलकन प्रभावित हुँदै आएको छ ।
सबैभन्दा बढी आयात हुने डिजेल, पेट्रोल, फलामे ब्लेड, मार्बल, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात घट्दा तथा खुला सीमा कारण चोरी पैठारी बढ्दा राजस्व संकलनमा प्रभाव परेको छ ।
मेची भन्सारमा आर्थिक वर्ष ०७९ ÷०८० मा लक्ष्यको ७०.७१ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड २० लाख ९० हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
आव ०८०÷०८१ मा ७८.४० प्रतिशत अर्थात १४ अर्ब २३ करोड ५२ लाख ६० हजार मात्रै राजश्व संकलन भएको थियो । र चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा मेची भन्सारले हाल सम्म बार्षिक लक्ष्यको ९०.२१ प्रतिशत राजश्व संकलन गरेको छ । साउनदेखि मंसिर सम्ममा ६ अर्ब ८२ करोड ५६ लाख ६६ हजार लक्ष्य पाएकोमा कार्यालयले ६ अर्ब १५ करोड ६९ लाख ७ हजार असुली गर्न सफल भएको छ ।