बनियानी : झापाको शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले एक करोड २७ लाख युनिट विद्युत् उत्पादन गरेको छ ।
२०८० माघ १० गतेदेखि २०८१ मंसिर मसान्तसम्म एक करोड २७ लाख चार हजार तीन सय ११ युनिट विद्युत् उत्पादन गरेको झापा इनर्जीका अध्यक्ष लालप्रसाद साँवा (एलपी) लिम्बूले जानकारी दिनुभयो । उक्त विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई विक्री गरेवापत रू नौ कराड २७ लाख ४१ हजार चार सय ७० आम्दानी भएको उहाँले बताउनुभयो ।
यस परियोजनाबाट उत्पादन भएको १० मेगावाट बिजुली विद्युत् प्राधिकरण दमक वितरण केन्द्र अन्तरगत बुलुचोक सब स्टेशन अन्तरगत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
“धेरै चुनौतीका बाबजुद परियोजना सञ्चालनमा आएर विद्युत् उत्पादन र बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “कम्पनीको आइपीओ खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ, त्यसपछि केही सहज हुनेछ ।”
झापा इनर्जी २१ बिघा ११ कट्ठा नौ दशमवल पाँच धुर जग्गामा फैलिएको छ भने परियोजनाको निर्माण लागत रू ५९ करोड ९९ लाखमा रहेको छ ।
यसैबीच, झापा इनर्जीको छैठौ साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, पूर्व कोशी प्रदेशका कृषि मन्त्री झलकसिंह दर्लामी, पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लालप्रसाद साँवा लिम्बूले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन कमल पनेरुले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रबन्ध सञ्चालक सुवास भट्टराईले गर्नुभएको थियो ।–––