झापा । सीमा सुरक्षा संगै चोरी पैठारी नियन्त्रणमा काम गरिरहेको शसस्त्र प्रहरीले झापाको दक्षिणि धार्मिक क्षेत्रमा सामाजिक कार्य गरेको छ ।
भद्रपुरस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक पर्यटकीय स्थल किचकवध परिसरमा वृहत् सरसफाई गर्दै शसस्त्र प्रहरीले प्रंशसनीय काम गरेको हो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वाटर झापाले आज आइतबार बिहान धाम परिसरमा वृहत् सरसफाई गर्दै सरसफाई सामग्री वितरण गरेको नम्बर २ गण हेडक्वाटर झापाका एसपी कवीन्द्र राईले जानकारी दिए ।
सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, कर्मचारी, भद्रपुर नगर प्रहरी, सगरमाथा युवा क्लब तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।
धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिकसंग सहकार्य गर्दै आइरहेको बताउंदै एसपी राईले आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिका आवश्यक रहने हुंदा सबैलाई सहयोग गर्न आग्रह गरे ।
साथै प्रहरीले पाँच वटा डसविनसहित सरसफाई सामग्री स्थानीय वडाध्यक्षहरूलाई हस्तान्तरण गरेका थिए । त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले धार्मिक स्थलहरूको संरक्षण हाम्रो सांस्कृतिक दायित्व भएको उल्लेख गर्दै सशस्त्र प्रहरीको किचकवध सरसफाई अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए ।
त्यस्तै सशस्त्र प्रहरीले सीमामा आउजाउ गर्ने स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कचनकवल गाउँपालिका–४ मा ट्युबवेल निर्माण गरिदिएको छ ।
सो ट्युबवेलको आइतबार एक कार्यक्रमका बीच कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र सशस्त्र प्रहरीका एसपी कवीन्द्र राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सीमा सुरक्षा मात्र नभई स्थानीय जनताको सेवा र सहकार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको शसस्त्र प्रहरीले जनाएको छ ।
महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबधमा हरेक वर्ष माघे शुल्क पूर्णिमा÷स्वस्थानी व्रतका दिन मेला लाग्दै आएको छ ।