झापा, २२ पुस । झापाको बुद्धशान्ति निवासी युवा निमार्ण व्यवसायी गंगाप्रसाद गौतम झापामा चिरपरिचत नाम हो । उनी विगत ७ वर्षदेखि पूर्ण रुपले निमार्ण व्यवसायको कमाण्ड सम्हालेर बसेका छन् ।

उनी आफ्नो बुबा नेत्रप्रसाद गौतमको प्रेरणा र मार्ग दशर्नबाट निमार्ण क्षेत्रमा आबद्ध भएका हुन् । उनका बुबा झापाकै पुरानो मध्येका एक निमार्ण व्यवसायी हुन् । उनका बुबाले इलाम जिल्लामा २०५४ सालमा प्रगतिशील निमार्ण सेवा दर्ता गरेर निमार्ण कार्यमा होमिएका हुन् ।


उनले झापामा त्यही फर्मले २०५६ सालबाट काम गरे । बुबासँगै हिँड्ने, काम गर्ने क्रममा धेरै कुरा सिक्ने र जान्ने मौका पाए । अहिले उनै गंगाले ७ वर्षदेखि पूर्णरुपले उक्त फर्म सम्हालेर काम गरिरहेका छन् ।

निर्माण कर्मसँगै यो क्षेत्रमा आबद्ध व्यवसायीको हकहितका लागि खट्ने सोचका साथ गंगा निमार्ण व्यवसायी संघ बिर्तामोड झापाको १६ औं अधिवेशनमा सदस्य पदमा उम्मेदवार बनेका छन् ।

भोलि पुस २३ गते निर्वाचनमा गौतमले सबैलाई अमूल्य मत दिएर निर्वाचित गराउन आग्रह गरेका छन् ।

संघमा आबद्ध साना व्यवसायीको हक हितमा काम गर्न र आवाज उठाउनलाई आफ्नो उम्मेदवारी रहेको उनले बताए ।


पछिल्लो समय संघमा ठूला व्यवसायी मात्र हुँदा साना व्यवसायीको समस्या समाधानमा कसैले पनि चासो नदिने गरेको उनको भनाइ छ । त्यसैले पनि उनले व्यावसायिक हकहितमा लबिङ गर्न संघमा जान आवश्यक रहेको ठहर गर्दै उम्मेदवार बनेको सुनाए ।

स्थानीय निकायमा खुलाइने ५० लाख भन्दा मुनीका टेण्डरमा स्थानीय निकाय तथा क्षेत्रका व्यवसायीलाई संघ मार्फत प्राथमिकतामा राख्न पहल गर्ने बताए । ‘अहिले देशभरका जुनसुकै निमार्ण फर्मले त्यस्ता टेण्डर हाल्दै आएका छन् ।


जसका कारण स्थानीय व्यवसायीलाई समस्या छन्’, उनले भने, ‘संघ मार्फत नीति नियम बनाउन पहल गर्ने र सोही मुताबिक काम गर्छु ।’

त्यस्तै, निमार्ण सामग्री गुणस्तर प्रयोगशाला संघमै निमार्ण गर्न भूमिका खेल्ने उनको भनाइ छ ।

अहिले नीजि क्षेत्रले स्थापना गरेको प्रयोगशालामा महँगो शुल्क तिरेर व्यवसायीले काम गराउनु पर्ने स्थिति रहेको उनले बताए ।

निमार्ण सामग्रीको बजार अस्थिर भएका कारण पनि त्यसलाई स्थिर बनाउन लबिङ र भूमिका सम्बन्धित निकायमा गर्ने उनको भनाइ छ ।

यसैबीच, संघको नयाँ नेतृत्वका लागि आज सोमबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिए ।

यस पटक चारसय बढी व्यवसायी अधिवेशनमा सहभागी भएको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।