झापामा लागूऔषध कारोबारी खोज्न गएको प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो झापाको मेचीनगर नगरपालिका(६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले लागूऔषाधसहित एउटा गैंडाको खाग जस्तो देखिने वस्तुसमेत बरामद गरेको हो ।

प्रहरीले होटलको कोठा नं। १०२ बुकिङ गरी बसेका भारतीय नागरिक नारायण रामधामलाई पनि पक्राउ गरेको छ । उनी वेष्ट बङगालको उत्तर मेन्दाबारीका हुन् ।

लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली रामधाम बसेको होटलमा पुगेको थियो ।

प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । उनका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

कर्टुनभित्र राखेको अवस्थामा भेटिएको खाग जस्तो वस्तुको सतहको गोलाइ १८‍।६ इन्च, उचाइ ८।६ इन्ज र तौल एक किलोग्राम ७०० ग्राम छ ।

गैडाको खाग हो होइन भन्ने विषय परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । प्रहरीले भारतीय नागरिक बसेको कोठाबाट प्लास्टिकको पोकाभित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेको छ ।

पेभन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता,  लागूऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।