बिर्तामोड :  झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक लगाइएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आज बसेको बैठकले रंगशाला प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष विकास गिरीले  जानकारी दिए । जथाभावी प्रयोग हुँदा मैदान बिग्रिने भएकाले रंगशालामा प्रबेश रोक लगाइएको उनले बताए । 

समितिको आयोजनामा हुन गइरहेको प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताका लागि मैदान मर्मत गर्नुपर्ने भएकाले पुस २७ गतेबाट मैदान प्रवेशमा रोक लगाएको समितिले जनाएको छ ।

समितिले यही माघको दोस्रो सातादेखि झापाका पालिकाबीचमा महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ । पुस पहिलो साता सकिएको झापा कपको समयमा रंगशाला मर्मत गरिएको थियो ।

समितिले केही कार्यक्रम गर्नु परे रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष दस लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।