बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले १६ लाख बढी नाफा आर्जन गरेको छ ।
आज सम्पन्न १७ औं बार्षिक साधारणसभामा अध्यक्ष किशोर भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले गत आर्थिक बर्षमा १६ लाख ६७ हजार १३१ रुपैया खुद नाफा आर्जन गरेको उल्लेख छ ।
त्यस्तै संस्थाको प्रतिवेदनमा उल्लेख भए अनुसार १२ हजार ७२६ जना शेयर सदस्य, शेयर पूँजी ६ करोड ३६ लाख ६२ हजार दुई सय रुपैयाँ रहेको छ ।
प््रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले गत आवमा १५२ जना शेयर सदस्यहरुलाई राहत बापत ७ लाख १० हजार १०८ रुपैया उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा गत आवमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सिता नेपाल, खिनादेवि मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र अध्यक्ष भट्टराईले पुरस्कृत गरेका थिए ।
संस्थाले बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र दैनिक उपभोग्य वस्तुहरुको थोक विक्रेताको कार्य गर्दै आएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
२०६१ सालमा स्थापना भएको संस्थाले झापामा ९ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश ढकाल, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ, राष्ट्रीय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहालले शुभकामना मन्तब्य राखेका थिए ।
सञ्चालक सदस्य माधवप्रसाद आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका शिक्षा उप–समिति सदस्य ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।