बिर्तामोड : बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् ।
आज शनिबार पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई गौरीले ३५ हजार सहयोग प्रदान गरेका हुन् ।
भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेशन एकेडेमीमा अध्ययनरत छन् ।
विगत एक दशक बढी समयदेखि सडकमा यत्रतत्र फ्याँकिएका प्लास्टिक तथा कबाडी सङ्कलन गरेर अनाथ आश्रम बनाउने अभियानमा होमिएका बिर्तामोड ६ का सामाजिक अभियान्ता तथा अभियानका अध्यक्ष गणेश ढुंगाना , अभियानका आजीवन सदस्य बीपी कोइरालालाई गौरी तथा उनका छोरा सन्देशले संयुक्त रूपमा सो रकम बराबरको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
अनाथ दिन दुःखी तथा सडकमा आश्रित मानवहरूलाई राख्नका लागि ढुङ्गानाको अग्रसरतामा अर्जुनधारा ११ स्थित देउनीया पुलको करिब ७ सय मिटर उत्तर क्षेत्रमा दुई कठ्ठा सात धुर जग्गा अभियानका नाममा खरिद गरिएको छ ।
जग्गा अभियानको नाममा आइसके पनि जग्गाधनीलाई अझै करिब ७ लाख रुपैयाँ जति तिर्न बाँकी रहेको अभियानका संयोजक समेत रहेका अभियन्ता ढुंगाना बताउँछन् ।
ढुङ्गानाको यो अभियानलाई नजिकबाट हेरिरहेका भण्डारीले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै समाज रूपान्तरणमा सहयोग गर्ने अठोटका साथ छोराको जन्मदिनमा केही थोरै भएपनि सहयोग गरिएको बताए ।
सामाजिक उत्तरदायित्व बहन गर्दै हरेक नेपाली नागरिकले यस्ता सामाजिक कार्यहरू तथा अभियानमा साथ सहयोग गर्न आवश्यकता रहेको भण्डारीको भनाई छ ।
उनले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कार्यहरू गरेर योगदान दिने बताए । भण्डारीले बिर्तामोड ६ स्थित बुटाबारीमा लामो समयदेखि शिवशक्ति टायर रिसोलिङ उद्योग सञ्चालन गरिरहेका छन् ।
उनले सञ्चालन गरिरहेको उद्योगमा उच्चस्तरीय आधुनिक प्रविधिको मिसिनको सहायताबाट बस, ट्रक, ट्याक्सी जेसीबी ,डोजर फोरविल सहित ट्याक्टरको अगाडिको टायर रिसोलिङ
गरिंदै आइएको छ । भण्डारी विभिन्न संघसंस्थामा समेत आबद्ध रहेका छन्। सामाजिक सामाजिक उत्तरदायित्व बहन गर्दै सबैले यस्ता अभियान तथा समाज रूपान्तरणमा लागेका अभियन्ताहरुलाई सहयोग गर्नुपर्ने बताए।