बिर्तामोड
झापाको बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज शनिबार संस्थाको मुख्य कार्यालयको सभाहलमा अन्तिम माइन्युट प्रमाणिकरण भेला भएसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
६ जिल्लाबाट छनोट भएका ३१ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले पानसमा दीप प्रज्ज्वलन तथा संस्थाका संरक्षक नरनाथ गिरीले खुत्रुकेमा पैसा खसालेर साधारण सभाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक नरनाथ गिरीले सुझावसहित शुभकामना मन्तव्य राखेको कार्यक्रममा सल्लाहकार केशव ओझा, देउमान थेवेले संस्थाले पु¥याएको योगदानको चर्चा गर्दै अगामी दिनमा थप प्रगतिको कामना गरे ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी इकाइगत साधारण सभाबाट आएका सुझावका बारेमा जानकारी गराएका थिए । संस्थाले उपलब्ध गराउने सेवा र त्यसमा थपघट हुनु पर्ने सदस्यको सुझाव सञ्चालक समितिले निर्णय गर्ने बताए । उनले लगानी गरिएको ऋण उठाउन सबैले पहल गर्नु पर्ने बताए । प्रवाह भएको ऋण उठाउन सके सदस्य सबैले पाउंदै आएको सेवा सुविधामा अझ बृद्धि गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा इकागत साधारण सभामा प्रस्तुत भएका १७ वटा प्रस्ताव र निर्णयहरु संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाले सभासमक्ष प्रस्तुत गरेका थिए ।
संस्थाले ५ करोड रुपैयाँसम्म ऋण लगानी गर्ने निर्णय सुनाउंदै उनले प्रदेश सहकारी विधेयकमा अधिकत सीमा २५ लाख तोकिएकाले प्रदेश रजिष्टार कार्यालयको स्वीकृतिका आधारमा पुनः ऋण लगानी सिमा निर्धारण गरिने बताए ।
संस्थाको आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी १ अरब ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रहेको छ ।
संस्थाका अध्यक्ष हरिबहादुर राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष डम्बर देउजाले गरेका थिए ।