बिर्तामोड–
मुद्रण उद्योग संघ झापाको सातौं वार्षिक साधारण सभा आज धनुषकोटी धाममा सम्पन्न भएको छ । सभामा संघले नौ जनालाई सम्मान गरेको छ ।
संघका संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठ, संस्थापक उपाध्यक्ष गोविन्द निरौला, सहसचिव रमेशकुमार रिजाल, कोषाध्यक्ष टंकप्रसाद दुलाल, सदस्यहरू टीकादेवी नेपाल, देवेन्द्रकिशोर ढुङ्गाना, खड्गबहादुर खड्का, पदमबहादुर बुढाथोकी र युवराज डाँगीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल ढकाल र संघका अध्यक्ष रोहितकुमार भट्टराईले उनीहरुलाई पुष्पहारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले मुद्रण उद्योगमा भएको लगानी र सृजित रोजगारी रक्षाका लागि विभिन्न चरणमा सरकारसँग छलफल भएको बताए ।
कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले मुद्रण व्यवसायीले छपाइको गुणस्तरलाई वृद्धि गर्दै आधारभूत मूल्यमा एकरूपता कायम गर्न जरुरी भएको बताए ।
साधारण सभामा अध्यक्ष भट्टराईले व्यवसाय प्रवद्र्धन गर्दै आधुनिक उपकरण र जनशक्ति उत्पादनका लागि डिजिटल मार्केटिङ र कर सम्बन्धी प्रशिक्षण लगायतका विषयमा कार्यक्रम प्रस्ताव गरेका थिए ।
सदस्य विस्तार अभियानलाई पनि तीव्रता दिइने संघका सचिव भानुभक्त खनालले बताए । छापाखाना व्यवसायीहरूलाई एकत्रित गरी व्यवसायिक हितका लागि काम सुरु गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने सचिव खनालको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले कच्चा पदार्थ आयातमा बढी कर लगाउने सरकारी नीतिका कारण मुद्रण व्यवसाय संकटमा पर्न सक्ने बताउँदै यस विषयमा समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने औंल्याएका थिए ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासङ्ख्या केन्द्रीय उपाध्यक्ष युवराज डाँगी, सल्लाहकार कृष्ण अधिकारी, कोशी प्रदेश अध्यक्ष लवकुमार घिमिरे, सह कोषाध्यक्ष राजु पोखरेल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका सदस्य केदार खनाल लगायतको आतिथ्य रहेको थियो ।
सचिव खनालले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष याम थुलुङले स्वागत गरेका थिए । संघले वनभोजको समेत आयोजना गरेको थियो ।