बिर्तामोड

झापाको बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयले ६७ औँ वार्षिकोत्सवमा ६५० जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।

सप्ताहव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गरेको विद्यालयले पुस २९ गते वार्षिकोत्सव मनाउने भएको र सोहि दिन विद्यार्थीलाई पुरस्कृत गरिने प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए । 

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले वार्षिकोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ । 

सम्मान कार्यक्रमअन्तर्गत दीर्घसेवी शिक्षक सम्मान २ जनालाई, उत्कृष्ट शिक्षक सम्मान ५ जनालाई, समाजसेवी शिक्षासेवी सम्मान २ जनालाई, अक्षयकोष दाता र पूर्वविद्यार्थी १–१ जनालाई सम्मान गरिने जनाइएको छ । 

त्यस्तै, सुरेश पाठक स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिनुका साथै एकजना अवकाशप्राप्त शिक्षकलाई विदाई गरिने प्रधानाध्यापक खरेलले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत करिब ५ सय विद्यार्थीहरुले विभिन्न जातजातिका झाँकीसहित नृत्य प्रस्तुत गर्ने उनले जानकारी दिए ।

महेन्द्ररत्न माविले महेन्द्ररत्न तारालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । पुस २८ गते महेन्द्ररत्न ताराको सिजन ३ सञ्चालन गरिने भएको छ । सो नगरस्तरीय गायन प्रतियोगितामा बिर्तामोडभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।