बिर्तामोड ।
झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । गत मंसिर अन्तिममा सञ्चालन भएको प्रतियोगिताको हिसाब आयोजकले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
प्रतियोगिताबाट २८ लाखभन्दा बढी रकम बचत भएको आयोजकले जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरिएको हो ।
आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो ।
यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिनामै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
उनले झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् । लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै नगद १० लाख पाउन सफल भएको थियो । न्यू रोड टिम (एनआरटी)ले उपविजेता बन्दै ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।