बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित बिर्ता बजारमा आज ट्राफिक सचेतनासँगै अटो चालकहरूलाई सम्मान गरिएको छ । पूर्वेली यातायात मजदुर प्रालीको समन्वय तथा प्रभाती अटो सर्भिस सेन्टरको आयोजनामा अटो चालकलाई दुर्घटना न्यूनिकरणकालागि एक दिने ट्राफिक सचेतनासँगै सम्मान गरिएको हो ।
त्यस्तै एक जना चालकलाई प्रभाती अटो सर्भिस सेन्टरका सञ्चालक रमेश राजवंशी(रबि) निशुल्क सेकेन्डहेन्ड अटो प्रदान गरेका छन् ।
विगत सात वर्षदेखि प्रभातीबाट भाडामा अटो लिएर चलाइरहेका बिर्तामोड ३ बिर्ता बजारका मनोज माझीलाइ निशुल्क उक्त अटो प्रदान गरिएको हो ।
७ बर्ष सम्म नियमित रुपमा चलाए बापतको किस्ता रकम इमान्दारितापूर्वक बुझाएको तथा दुर्घटना नगराई सडकमा सुरक्षित तबरले अटो चलाएको भन्दै माझीलाई करिब २ लाख ५० हजार मूल्य पर्ने अटो प्रभातिका सञ्चालक रमेश राजवंशी (रवि) ले निशुल्क प्रदान गरेका हुन् । अट्टो निशुल्क पाउंदा माझीले पनि खुसी ब्यक्त गरे ।
माझीलाई अटोको चाबि राजवंशी र कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीले हस्तानतरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बुढाथोकीले पछिल्लो समय अटो तथा सिटी चालक हरुले जथाभावी रोकेर यात्रु चढाउने, ओराल्ने र तीव्र गतिमा अटो चलाउँदा दुर्घटना भइरहेको बताए ।
उनले दैनिक जीविका चलाउनका लागि अटो चलाइरहेका चालकहरुलाई तीव्र गतिमा सवारी नचलाउनलाई आग्रह गरे।
उनले एकछिनको हतारोका कारण दुर्घटना भएको खण्डमा चालक तथा यात्रुको परिवारलाई धेरै ठूलो क्षति हुने भएको अवगत गराउँदै दुर्घटनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन चालकहरूलाई अनुरोध गरे।
त्यस्तै कार्यक्रममा २० जना अटो चालकहरूलाई सम्मान गरिएको छ । ट्राफिक नियमको पालना गर्दै सुरक्षित तबरले राम्ररी सवारी चलाएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमाणपत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्वेली यातायात मजदुर प्रालीका अध्यक्ष तथा बिर्तामोड नगरपालिका ३ का वडा सदस्य हरिबास्कोटाले पनि तिब्र गतिमा सवारी नचलाउन आग्रह गरे । त्यस्तै उनले मजदुरहरु एक हुन आवश्यक रहेको औंल्याए ।
पूर्वेली यातायात मजदुरका सल्लाहकार धनसिंह राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वेलीका सचिव गणेश कोइरालाले गरेका थिए ।
कार्यक्रममा सहभागी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक लीला श्रेष्ठले ट्राफिक नियम सहित सडकमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी र चालकहरूको दायित्वको विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा व्यवसायी कोशीस घिमिरे, जिवन रिजाल, रन्जित थापा, छबिलाल नेपाल, पारस न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।