झापा

झापाको बिर्तामोड नगरपालिका ३ मा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । 

आज सोमबार विद्यालयको प्राङगणमा एक भब्य समारोहका बिच पूर्व विद्यार्थी , दीर्घसेवी शिक्षक , वर्ष उत्कृष्ट शिक्षक , वर्ष उत्कृष्ट खेलाडी , उत्कृष्ट अभिभावक, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, जग्गादाता , अक्षयकोष दातालाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।

कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले समारोहको उद्घाटन गरेका थिए । बार्षिकउत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य भोजराज सिटौला , जग्गादाता भक्तसिंह राजवंशी , अक्षयकोष दाता गुरुभक्त न्यौपाने , पूर्व विद्यार्थी मदनगोपाल सुब्बालाई सम्मान गरिएको थियो । 

pic 2 mahendra

त्यस्तै २५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकहरु मित्रलाल ओली र हरिमाया लिङदेनलाई दीर्घसेवी सम्मान प्रदान , लक्ष्मी प्रसाई , इच्छाराम निरौला ,देवीप्रसाद कडरिया ,रत्नमान गिरी र गोमा नेपाललाई वर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । 

त्यस्तै वर्ष उत्कृष्ट खेलाडीको रुपमा निश्चल शिवाकोटी र अनिसा खड्का सम्मानित भएका छन् भने उत्कृष्ट अभिभावकको रुपमा निर्मला प्रसाई र टंकप्रसाद संग्रौलालाई सम्मान प्रदान गरिएको छ ।

त्यस्तै सुरेश पाठक स्मृति अक्षयकोषबाट कक्षा ४ र ५ मा अध्ययनरत ८५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ भने सोही अक्षयकोषबाट तीनजना उत्कृष्ट विद्यार्थीलाई ५–५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ । 

छात्रवृत्ति पाउनेमा कक्षा ८ मा प्रथम हुने सान्धी शिवाकोटी , कक्षा १० मा प्रथम हुने गौरव परियार र कक्षा १२ मा प्रथम हुने ओमप्रकाश दाहाल रहेका छन् । सोही अवसरमा अवकाशप्राप्त शिक्षक कल्पना भण्डारीलाई विदाई गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा ७५० जना विद्यार्थीहरुलाई सम्मानित र पुरस्कृत गरिएको थियो ।  खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो विद्यालयले सप्ताहव्यापी खेलकुद प्रतियोगिता संचालन गरेको थियो ।

त्यस्तै महेन्द्र रत्न माविले महेन्द्र रत्न तारालाई यस वर्ष पनि निरन्तरता दिएको छ । महेन्द्र रत्न ताराको सिजन थ्रीमा मोहनमाया माविका विज्ञान डाँगी प्रथम , देवी माविकी सविना रणपहेली द्वितीय ,महेन्द्ररत्न माविकी अस्मिता हस्दा तृतीय भएका छन् । सो नगरस्तरीय गायन प्रतियोगितामा बिर्तामोडभरिका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार , दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी , बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम , शिक्षक महासंघका युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहायक प्रधानाध्यापक केशव प्रसाईले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।