होटल व्यवसायी संघ झापाको आयोजना तथा पर्यटन कार्यालय काँकरभिटाको सहकार्यमा हिजोबाट सञ्चालित दुई दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । 

होटल , ट्राभल र ट्रेकिङमा आबद्ध व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने अभिप्रायले आइतबारबाट बिर्तामोडमा सुरु भएको तालिम आज सोमबार समापन भएको हो । 

होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । 

तालिममा ६५ जना सरोकार राख्ने निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शर्मा, संघको अध्यक्ष श्रेष्ठ, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सिप र ज्ञानलाई सदुपयोग गर्न आग्रह गरे ।  तालिममा निरज श्रेष्ठले हस्पिटालिटी सम्बन्धी र ट्रेकिङ सम्बन्धी प्रशान्त गिरीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव शिवराज पौडेलले गरेका थिए ।