बिर्तामोड
झापा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा एमबिबिएस तहको पढाइ सुरु भएको छ । कलेजले यही पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।
साविकको मेची अञ्चलमै पहिलोपल्ट बिएण्डसीले विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिपछि चिकित्सा शिक्षा एमबिबिएस तहमा पढाउन सुरु गरेको हो ।
कलेजमा अध्ययनरत ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।
स्वदेशी ३४ जनाध्ये पाँचजनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको अधिकृत गिरीको भनाई छ । कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै आफ्नो सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । बिर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि ३०० बेडमा सञ्चालनमा रहेको छ ।
मेडिकल कलेजका लागि २०६८ सालमा सरकारबाट आशयपत्र पाउँदा र २०७१ सालमा ३०० बेडको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन सुरु हुन कलेजले एक दशक कुर्नु परेको थियो ।
बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बिएन्डसी कान्छो कलेज भएको जानकारी दिए । पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको उनले बताए ।
कलेजमा साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बायलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको जनाइएको छ ।
सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजारजनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरु एक हजार रोजगारी सिर्जना हुने बताए ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।