बिर्तामोड : मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो ।
झापा ११ ले भुटानको प्रिमियर लिग क्लब ट्रान्सपोर्ट युनाइटेडलाई २(१ गोल अन्तरले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले सुदेवा एफसी नयाँ दिल्लीको सामना गर्नेछ ।
झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा झापा ११ का हरि मगर र १४ औँ मिनेटमा सन्तोष खत्रीले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो ।
ट्रान्सपोर्ट युनाइटेडका लागि खेलको ६७ औँ मिनेटमा येसी गिल्सेनले सान्त्वना गोल फर्काएका थिए । झापा ११ ले खेल अवधिभर ट्रान्सपोर्ट युनाइटेडलाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच झापा ११ का विशाल घलान भए । उनले नगद १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।
ट्रान्सपोर्ट युनाइटेड भुटानको सन् २००४, २००५, २००६, २००७, २०१७ र २०१८ को राष्ट्रिय लिग च्याम्पियन क्लब हो भने झापा ११ एन्फा कप च्याम्पियन र मोफसलका गोल्डकपको सशक्त टिम हो ।
यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो । झापा ११ ले अब दोस्रो सेमिफाइनल खेल माघ ६ गते सुदेवा एफसी नयाँ दिल्लीसँग खेल्नेछ ।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २० लाख र उपविजेताले नगद १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।