कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापामाथि हातपात गर्नेलाई अभद्र व्यवहारमा मुद्दा म्याद थप गरिएको छ । थापालाई हातपात गर्ने दुई जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको हो ।
प्रहरीले थापामाथि हातपात गरेको आरोपमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरि ३ दिनका लागि म्याद थप गरेको हो ।
नेपाली काँग्रेस कोशीका सभापति समेत रहेका थापा माथि शनिवार झापामा हातपात भएको थियो । हातपातका क्रममा उनको आँखा माथि चोट समेत लागेको छ । उनलाई हातपात नेपाल विद्युत् प्राधिकरणका चालक र एक कर्मचारी हुन् । शनिवार पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार मुद्दामा तीन दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
सोधपुछका लागि बोलाइएका एक जनालाई भने छाडिएको छ । शनिवार बेलुका करिब साढे ६ बजे झापाको सुरुङ्गामा ओभरटेक गर्न खोजेपछि विद्युत् प्राधिकरणको सवारी चालकले उनलाई मुक्का प्रहार गरेका थिए । उनी शनिवार विर्तासिटी अस्पतालमा उपचारपछि घर गएका थिए ।