झापा :  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।

आज मंगलवारबाट शुरु हुने ब्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडस्थित महोत्सवस्थलमा सोमवार गरिएको पत्रकार सम्मेलनमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरु रहेको बताए । यहाँका व्यवसायीहरुले देश विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले भने – अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने हाम्रो अपेक्षा छ ।

महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उनको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत,भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरु समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै  विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताए ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताए । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने बताइएको छ ।

महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको पत्रकार सम्मेललनामा जानकारी दिइयो ।

स्थानीय प्रशासनसंगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासंग समेत सहयोग लिएको र  महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरेको  अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवको उद्घाटन सत्रमा अपरान्ह १ बजे दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा , बाजागाजा, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा नगरपरिक्रमा गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  नगरपरिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुने भएको छ ।

नेपाल सहित छिमेकी मुलुकका उपभोक्तालाई एकै थलोबाट उपभोग्य वस्तुको खरिद र अवलोकन गराउँदै आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सवले टेवा पु¥याउने बताइएको छ ।

पत्रकार सम्मेलनमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेकी थिइन् भने सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।